भिम निर्दाेष केसी ,सल्यान- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यान जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न दल र उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुगिरहेका बेला नेकपा माओवादी तर्फबाट उम्मेदवार बनेका चन्द्र बहादुर खड्का (असल ) मतदाताको रोजाइमा पर्न थालेका छन् ।
सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक अनुभव बोकेका खड्का पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन्।दीर्घ राजनीतिक संघर्ष, जनतासँगको निकटता र स्थानीय समस्याप्रति स्पष्ट दृष्टिकोणकै कारण उनको पक्षमा जनमत बढ्दै गएको छ।
विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिबाट सुरु भएको खड्काको राजनीतिक यात्रा जनयुद्ध, शान्ति प्रक्रिया र संगठन निर्माण हुँदै हाल उनी नेकपा माओवादी को पोलिटब्यूरो तहका नेताका रूपमा पार्टी राजनीतिमा सक्रिय छन्। पटक–पटक राज्यद्वारा गिरफ्तार, यातना र जेल जीवन भोगे पनि राजनीतिमा अडिग रहँदै आएका खड्काले सधैं देश र जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
विकास, सुशासन, रोजगारी र जनउत्तरदायित्वलाई मुख्य एजेन्डा बनाएका खड्काले भाषणभन्दा व्यवहार र वाचाभन्दा कामलाई प्राथमिकतामा राख्दै आएका छन्। यही कारण युवादेखि वृद्धसम्म विभिन्न वर्गका मतदाताहरू उनीप्रति सकारात्मक देखिन थालेका छन्।
विसं २०५३ मा राज्यद्वारा पहिलो पटक गिरफ्तार भई अमानवीय यातना भोगेका खड्काले राजनीतिक संघर्षबाट कहिल्यै पछि नहटेको इतिहास छ।
विसं २०५५ कात्तिक २५ गते तत्कालीन सरकारले घरमै सुतिरहेको अवस्थामा उनका बुबा माधु खड्कालाई गोली हानी हत्या गरेपछि पनि उनले संघर्षको बाटो नछोडेको स्थानीयहरू सम्झन्छन्। उक्त घटनामा उनी स्वयं घाइते भए पनि प्रहरी घेरा तोडेर ज्यान जोगाउन सफल भएका थिए।
जनमुक्ति सेनामा रहँदा पाँच दर्जनभन्दा बढी लडाइँमा सहभागी भएका खड्काले विभिन्न सैन्य फर्मेसनको कमाण्ड सम्हाल्दै सक्रिय भूमिका निर्वाह गरेका थिए। शान्ति प्रक्रियापछि वाइसिएल (YCl) मा आबद्ध भई संगठन निर्माणमा लागेका उनी पाँच पटक राज्यद्वारा गिरफ्तार, यातना र करिब ११ महिना जेल जीवन बिताएर पनि राजनीतिमा अडिग रहँदै आएका छन्।
आजसम्म कुनै पनि लाभको पदमा नरही निस्वार्थ जीवन बिताएका चन्द्र खड्का देश र जनताको पक्षमा दृढ प्रतिबद्ध नेता भएको उनका समर्थकहरूको दाबी छ। लोभ, स्वार्थबाट टाढा रहेर जनताको दुःख–सुखमा साथ दिने व्यवहारिक शैली नै उनको सबैभन्दा ठूलो शक्ति मानिन्छ।
भाषणभन्दा काम, वाचाभन्दा व्यवहार र अहंकारभन्दा सहकार्यमा विश्वास गर्ने चन्द्र खड्काको नेतृत्व शैलीको कारण बढ्दो जनसमर्थनले सल्यानको प्रतिनिधिसभा निर्वाचनलाई रोचक बनाएको छ।



